नियम
जिल्ला बाल कल्याण समितिको काम कर्तव्य र अधिकार
: ऐनमा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त जिल्ला बाल कल्याण समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बालकहरुको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी जिल्ला स्तरीय दीर्घकालीन नीति र योजना तर्जुमा गरी केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरी बनाई कार्य संचालन गर्ने, गराउने ।
(ग) वार्षिक कार्यक्रम संचालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको परिचालन गर्ने ।
(घ) जिल्लामा कारागारमा रहेका वेवारिसे अवस्थामा रहेका वा श्रमिकको रुपमा कार्यरत बालक तथा अपांग र सुस्तमनस्थिति भएका बालकको तथ्यांक संकलन गरी त्यसको अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ङ) जिल्लामा रहेका बाल मजदूर र बाल विवाह तथा देवी देवताको नाउमा चढाइएका बालक भए सो सम्बन्धी तथ्यांक संकलन गरी त्यसको अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(च) खण्ड (ङ) मा उल्लिखित कुप्रथा हटाउन जिल्ला स्तरमा सामाजिक कार्यकर्ता तथा प्रतिष्ठित व्यक्तिहरुको सम्मेलन गराई सुझाव संकलन गरी त्यस्तो कुप्रथा हटाउने कार्यमा सामाजिक कार्यकर्ता तथा गैर सरकारी संघ संस्थाहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने ।
(छ) जिल्लाभित्र संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्र वा त्यस्तै अन्य गृह वा केन्द्र भए त्यसको क्षमता सुविधा आदिको तथ्यांक संकलन गरी अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ज) जनसहभागीताबाट वा सरकारी एवं गैर सरकारी संघ संस्थाहरुको सहभागिता जुटाई जिल्लाको विभिन्न भागमा बालकको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी बाल कल्याणकारी कार्य संचालन गर्ने र त्यस्तो कार्य गर्न सामाजिक कार्यकर्ता तथा सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई सहयोग गर्ने ।
(झ) जिल्लाभित्र संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको निरीक्षण गर्न गराउन व्यवस्थापन समिति, बाल कल्याण गृह प्रमुख तथा प्रशासकलाई आवश्यक निर्देशन एवं सुझाव दिने ।